काठमाडौं,भदौ ३१ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले प्रतिफल दिने आयोजनाबारे बुझेर लगानी गर्नुपर्ने बताउनुभएको छ।
कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कोषले लगानी गर्दा सोचेर मात्र गर्नुपर्ने बताउनुभएको हो।
देश विकासमा कोषको महत्वपूर्ण भूमिका बताउनुहुँदै उहाँले अनुत्पादक क्षेत्रमा लगानी भए देशको अर्थतन्त्रलाई नै असर गर्ने उल्लेख गर्नुभयो।
अर्थमन्त्री डा. महतले भन्नुभयो, “कोषसँग कर्मचारीको सुरक्षित रकम हुन्छ। यो रकम अनुत्पादन क्षेत्रमा लगानी भयो भने जोखिम राज्यलाई र कर्मचारीलाई नै हुन्छ। त्यसैले उत्पादनशील क्षेत्रको पहिचान गररे ऋण लगानी गर्नुपर्छ।”
कोषप्रति देश र कर्मचारीले ठूलो विश्वास गरेकाले कोषले यसको साख जोगाउनुपर्ने उहाँको भनाइ छ। फरक प्रशंगमा उहाँले अहिले देशको अर्थतन्त्रको अवस्था विस्तारै सुधार हुँदै गएको उहाँको तर्क छ।
उहाँले भन्नुभयो, “अहिले पर्यटकको आगमन बढ्दो छ। विदेशी मुद्राको सञ्चिति राम्रो छ। देशको अर्थतन्त्रको अवस्था पनि विस्तारै सुधार हुँदै गएको छ।”
अझै पनि राजश्व संकलनमा अपेक्षा गरेअनुसार नतिजा भने नआएको उहाँको भनाइ छ।