दाङ – चाडपर्वको समयमा हुन सक्ने सम्भावित गाडी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई तीव्रता दिएको छ । दाङ बाहिरिने तथा भित्रिने र विभिन्न स्थानीय रुटमा चल्ने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रयाक्टर रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
तीव्र गतिमा गाडी चलाउनेलाई टाढैबाट राडर गन (गति मापन यन्त्र) हान्न थालेको छ । प्रहरीले घरको छत तथा साइडबाट राडर गनको माध्यमले गाडी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ । तीव्र गतिमा गाडी चलाउनेलाई ठाउँको ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
तीव्र गति र मादक पदार्थ सेवनका कारण गाडी दुर्घटना हुनसक्ने भएकाले मापसे नगर्न, तीव्र गतिमा गाडी नचलाउन र क्षमता भन्दा बढी सामान गाडीमा नराख्न भन्दै चालकलाई सम्झाउने गरेको जिल्ला ट्राफिक प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।
तीव्र गति र ओभरटेकलाई ट्राफिक प्रहरीले सबैभन्दा बढी दुर्घटनाको कारण मानेको छ । नेपालीहरूको महान पर्व बडादशैँको समयमा सपरिवार बसेर रमाइलो मनाउने बेला सामान्य हेलचेक्य्राइँले अप्रिय घटना हुँदा त्यसलै सबैलाई पीडाबोध हुने भन्दै दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान चलाएको प्रमुख मल्लले जानकारी दिनुभयो ।
एक हप्तादेखि दाङका प्रमुख सहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ, अमिलिया, गढवा लगायतका स्थानमा राडर गन सहित ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ ।
सडकको छेउमा वा घरको छतमा राखेर गाडी कुन गतिमा गुडेको छ भनेर राडर गनले परैबाट पत्ता लगाउने गर्छ । ट्राफिक प्रहरीले सोमवार तुलसीपुर बजारमा पैदलयात्रुका लागि बाटो काट्न जेब्राक्रसिङ निर्माण, अटो व्यवस्थापनका लागि चालकसँग छलफल गरेको छ । त्यस्तै गोठीखोला र सात तलेमा पुगेर गाडी चेकजाँच गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमखु महेन्द्र चन्दले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले बिहान, दिउँसो र साँझपख गाडी चेकजाँच गर्ने गरेको छ ।