कपिलबस्तु, कात्तिक ३० गते । कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न विहिबार रातिदेखि नै हजारौँ भक्तजन आइरहेका थिए । मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका छन् ।
रामघाटमा छिमेकी देश भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका श्रद्धालु समेत आएका थिए । भक्तजनहरु रातभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो ।
त्रेतायगुमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्वदन्ती छ । रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरु बताउँछन् ।
कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको कपिलबस्तु नगरपालिका ४ का गणेश प्रसाद पाण्डेयले बताउनुभयो ।
प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बाकेको श्रद्धालु भक्तजनहरु बताउछन् । यशोधरा गाँउपालिका १ बाट रामघाट आएका विरेन्द्र चौधरीले यस वर्ष पनि गौ, अन्नपता सहीत पैसा दान गरेको बताउनुभयो । ‘हामीले हरेक बर्ष रामघाटमा कार्तिक पुर्णिमामा दान गर्ने गर्छौ,’ उहाँले भन्नुभयो ‘बाजे बज्यैको पाला देखिको परंम्परालाई कामय राखेका छौ, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ ।’
बाणगंगाको रामघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दौनामा लागेको मेलामा ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए । मेलालाई व्यवस्थित गर्न, कुनै पनि किसिमको घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी समेत खटिएका छन् । सो अवसरमा जिल्लाको कपिलबस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका, मायादेबी, शुद्धोधन, यशोधरा र विजयनगर गाउँपालिकाले स्थानीय बिदा समेत दिएक छन् ।