कपिलबस्तु, पुस ८ गते । युवा सञ्जालका किशोर किशोरीहरुलाई तिन दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम दिइएको छ । दलित समाजिक विकास केन्द्रको आयोजना र यूनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सञ्चालित परिवर्तनका लागि बालबालिका युवा तथा समुदाय परियोजना(सि वाई सिसि) अन्र्तगत उक्त तालिम दिइएको हो ।
युवाहरुको नेतृत्व बिकास गर्दै क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले तिन दिने तालिमको आयोजना गरिएको सिवाईसिसि परियोजनाका परियोजना संयोजक जितेन्द्र चौधरीले बताउनुभयो । तिन दिने तालिमको सहजिकरण उमाशंकर आचार्यले गर्नु भएको थियो ।
युवाहरुलाई आत्मजागरण सिप, सकारात्मक विकास तथा उत्पे्ररणात्म कक्षा, प्रभावकारी संचार र समन्वय सिप, सिर्जनात्मक तथा समालोचनात्मक सोचाई, निर्णय गर्ने सिप, नेतृत्व विकास सम्बन्धि आधारभूत जानकारी तथा समूह संजालमा नेतृत्वको आवश्यकता, असल नेतामा हुनु पर्ने गुणहरु, संजालको संस्थागत विकास र कार्ययोजना निर्माण लगायतको विषयमा तालिम दिइएको थियो ।
यस प्रकारको तालिमले आफ्नो नेतृत्व क्षमता र व्यक्तिगत विकासमा सहयोग पुग्ने सहभागिहरुको भनाई छ ।
सो अवसरमा बोल्दै युएमएनकी शान्ति थापा मगरले सिकेको विषयहरुलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । सहभागिहरुको उत्साहजनक प्रतिक्रिया र सक्रिय सहभागिताले तालिम सफल भएको महसुस भएको उहाँको भनाई छ ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष सुर्जमति पासीले समुदायलाई सुन्दर बनाउन युवाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । यस्ता तालिमहरुले युवाहरुको नेतृत्व र क्षमता विकासमा टुवा पुग्ने विश्वास लिइएको उहाँको भनाई छ । कार्यक्रममा मायादेवीका २० जना युवा सञ्जालका किशोर किशोरीको सहभागिता रहेको थियो ।