कपिलबस्तु, पुस १७ गते । विगत केही दिन देखि अत्यधिक चिसो बढेसँगै तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । चिसो तथा शीतलहरलाई मध्यनजर गर्दै मायादेवी गाउँपालिकाले जनताको घरदैलोमा पुगेर राहत स्वरूप कम्बल वितरण थालेको छ । गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले वडा नं. ५ बलुहवाका २ सय ७३ जना वृद्ध र ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्नुभएको हो ।
अध्यक्ष खानले चिसोबाट बच्नका लागि स्थानीय बासिन्दालाई विभिन्न सावधानी अपनाउन आग्रह गर्नुका साथै चिसोले कमजोर व्यक्तिहरूलाई थप समस्या नपारोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताउनुभयो ।
चिसो मौसममा स्थानीय बासिन्दाको जनजीवनमा केही सहजता ल्याउने अपेक्षा गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण तेलीले बताउनुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयले पछिल्ला केही दिनयता चिसोको मात्रा क्रमिक रूपमा बढ्दै गएको र विशेष गरी वृद्ध व्यक्तिहरूलाई समस्या पर्ने भएकाले राहत वितरण गरिएको बताउनुभयो । कम्बल पाएपछि बृद्धबृद्धाहरु खुशी भएका थिए ।