कपिलबस्तु,पुस १७ गते । कपिलबस्तुको यशोधरा गाँउपालिकामा आयोजित तिन दिने निःशुल्क आंखा शिविरबाट एक हजार बढी लाभान्वित भएका छन् । यशोधरा गाउँपालिका कपिलबस्तुको आयोजना र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको प्रबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गाउँपालिकाका आठवटै वडा गरी एक हजार १७ जनाले आँखाको जाँच तथा उपचार गराएका यशोधरा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र कुमार मिश्राले बताउनुभयो । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
शिविरबाट मोतियाविन्दुको पहिचान भएका दुई सय ६७ जनाका शल्यक्रिया गरिएको उहाँको भनाई छ । शिविरमा पाँच सय ८ जनालाई औषधि तथा दुई सय ४२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।
शिविरमा सेवा लिएका सेवाग्राहीहरूले खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । एकजना वृद्ध सेवाग्राहीले भने, ‘हामीजस्ता वृद्धहरूका लागि यस्तो सेवा धेरै उपयोगी छ । आँखा जाँच गराउन टाढा जानुपर्दा समस्या हुने गथ्र्यो, तर अब गाउँमै उपचार पाउँदा खुशी लागेको छ ।’
सो अवसरमा बोल्दै यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले शिविरले स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न मद्दत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता शिविरले विशेषगरी दक्षिणी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको बताउनुभयो ।’ आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने उहाँको भनाई छ ।