कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा वडाका एकल महिला लाई प्रेसर कुकर तथा ज्येष्ठ नागरिक र अति विपन्न नागरिकलाई कम्मल वितरण गरिएको छ ।
वडा कार्यालयले वडाका ८५ जना एकल महिलालाई प्रेसर कुकर तथा ३ सय १० जना नागरिकलाई कम्मल वितरण गरेको हो ।
वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा सदस्यहरू हृदयराम यादव, ईनरमती लोध र सर्बवति पासीले लक्षित वडावासीलाई सामाग्री हस्तान्तरण गरेका थिए । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले एकल महिला, ज्येष्ठ नागरिक र विपन्नलाई प्राथमिकतामा राखेर आवश्यकताका आधारमा वडाले यस्तो सामाग्री वितरण गरेर राम्रो काम गरेको बताए ।
वडाका विधवा एकल महिला, ज्येष्ठ नागरिक र अति विपन्न परिवारलाई वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष असफाक अकमद मुसलमानले बताए । उनले आफ्नो वडाले सुरु देखि नै लक्षित बर्गलाई आवश्यकताका आधारमा यस्ता सामाग्री वितरण गर्दै आएको बताए । वडाले बिकास निर्माणका कार्य सँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यलाई प्राथमिकता दिँदै आएको उनले बताए । प्रेसर कुकर पाए पछि आफूहरूलाई अब खाना पकाउन सहज हुने एकल महिलाले बताएका छन् ।