तौलिहवा(कपिलबस्तु), फागुन २१ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतिपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा तौलिहवा वितरण केन्द्रको नयाँ प्रशासनीक भवनको उद्घाटन गर्नुभएको छ । उहाँले ३३ केभीका स्वीच अन र भवनको शिलामा लेखिएको ब्यानर उघारेर उद्घाटन गरेका हुन ।
सो अवसरमा बोल्दै कार्यकारी निर्देशक घिसिङ लामो समय देखि अवरुद्ध रहेको ३३ केभीको डबल सर्किट लाईन सुचारु गर्न सरकार र गृह मन्त्रालयले सहयोग गरेकोमा धन्यबाद दिनु भएको छ । तौलिहवा वितरण केन्द्र कपिलवस्तुले राखेको कार्यक्रममा उहाँले बिद्युत लाईन प्रसारण बिस्तारमा आउने अवरोधमा सरकार र गृह मन्त्रालयबाट पुरा सहयोग पाई रहेको बताउनुभयो ।
उनले जिल्ला स्थित सुरक्षा निकायबाट बिशेष सहयोग पाईरहेकोले बिद्युत प्रसारणमा आउने समस्या समाधान हुने गरेको समेत उहाँको भनाई छ । सदरमुकाम तौलिहवा लगायत कपिलवस्तुका दक्षिण तर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत उपलब्ध हुने उहाँको विश्वास छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले विकास निर्माणमा समन्वयकारी भुमिका खेल्ने गरेको बताउनुभयो । बिद्युत प्रसारण लाईन बिस्तार गर्ने क्षेत्रका जग्गाहरुका लागि केही प्रवधानहरु परिवर्तन गर्न आवश्यक रहेको प्रजिअ अर्यालको भनाई छ ।
प्राधिकरणको प्रादेशिक प्रमुख हरि प्रसाद पाण्डेले चुहावट नियन्त्रणमा बिगतमा जस्तै सुरक्षा निकायले साथ दिनु पर्ने बताउनुभयो । उहाँले विद्युत बिस्तार कार्य जारी रहेने बताउनुभयो ।
बिद्युत प्रशारण लाइनमा बिस्तारमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको केन्द्र प्रमुख गौरव पाण्डेले बताउनुभयो । सदरमुकाम क्षेत्रको बिद्युत समस्याका रुपमा रहेको लो भोल्टेज लगायतका समस्याहरु क्रमशः समाधान हुँदै जाने उहाँको भनाई छ । सदरमुकाम क्षेत्रले अब गुल्जार पाउनेमा बिश्वस्त रहन उहाँले सबैलाई आग्रह समेत गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङ्गले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र के.सी. लगायतलाई प्रमाणपत्र सहित सम्मान गरेका छन् । कार्यक्रममा बुटवल ग्रीड महाशाखा प्रमुख सुरज गौतम, लुम्विनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, बिभिन्न बितरण तथा ग्रीडका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।