कपिलबस्तु, चैत ३ गते । उपभोक्ताको अधिकार संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवस शनिबार मनाइएको छ । स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ता संरक्षणको दिगो अधिकार भन्ने नाराका साथ उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी जनार्दन अधिकारीले उपभोक्ता अधिकार संरक्षण केवल खाद्य वस्तुसम्म सीमित नरही, सार्वजनिक निर्माण, सेवा क्षेत्र, स्वास्थ्य तथा गुणस्तरयुक्त वस्तुको आपूर्ति सम्म फैलिनुपर्ने बताउनुभयो । उहाँले उपभोक्ताको हकहितको संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायहरूले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका महासचिव देवेश जयसवालले उपभोक्तालाई गुणस्तरीय वस्तु किनबेच गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरूले उपभोक्ताको हितलाई ध्यानमा राख्दै उत्पादित तथा विक्री गरिने वस्तु तथा सेवाको गुणस्तर कायम गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक पोस्टराज ज्ञवालीले उपभोक्ताले आफ्नो अधिकारप्रति सचेत रहनुपर्ने र उपभोक्ता हितका लागि सरकारी निकायहरू सधैँ जिम्मेवार रहने बताउनुभयो । उहाँले उपभोक्ता सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले उपभोक्ता सचेतना, बजार अनुगमन तथा गुणस्तर नियन्त्रणलाई अझ व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उपभोक्ताले उपयोग गर्ने वस्तु तथा सेवाको गुणस्तर जाँच्ने जिम्मेवारी व्यवसायी तथा उपभोक्ता दुबैको रहेको उहाँको भनाई छ ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, उपभोक्ताहरू, व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपभोक्ताहरूले बजारमा गुणस्तरीय उत्पादन तथा निष्पक्ष व्यापारिक क्रियाकलाप सुनिश्चित गर्नका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उपभोक्ता अधिकार, बजार अनुगमन, वस्तु तथा सेवाको गुणस्तर, मूल्य नियन्त्रण तथा कानुनी क्षतिपूर्ति व्यवस्थाबारे छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन उद्यम विकास अधिकृत विनय कुमार शैनीले गर्नुभएको थियो ।










































