२५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ तीन दिन विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । वैशाख २८, २९ र ३० गतेका दिन उत्सवको रुपमा मनाउन लागिएको लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ मनाउँदै आएको र यसैदिन लुम्बिनी दिवसका रुपमा समेत मनाउने गरिएको बताए । २५६९ औं जन्म जयन्ती तथा लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष बद्री प्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।
अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाको संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष ढुण्डीराज भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र रामग्राम समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्था तथा स्वयंसेवक उपसमिति र कार्यकारी सदस्य श्याम मिझारको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यवस्था उपसमिति गठन गरिएको कोषका वरिष्ठ सूचना अधिकारी डा। हरिध्वज राईले जानकारी दिए ।
त्यस्तै परिषद सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, कार्यकारी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभायात्रा, प्रसाद वितरण तथा भोजन व्यवस्थापन उपसमिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मञ्च साजसज्जा तथा सरसफाई व्यवस्था उपसमिति र वरिष्ठ निर्देशक ज्ञानिन राईको संयोजकत्वमा प्रसाद वितरण तथा कार्यक्रम व्यवस्था उपसमिति गठन गरिएको छ ।
वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६९ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने कोषाध्यक्ष भट्टराईले जानकारी दिए । विशेष समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाको समेत सहभागीता रहने उनले जानकारी दिए ।
तीनदिने कार्यक्रम अन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागीतामा प्रार्थना सभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुनेछ ।
यसका साथै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उनले बताए ।
त्यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रसुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपील गरेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते वर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । त्यस्तै लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिनेछ ।
१ करोड बजेट खर्च गरेर २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदैछ ।