कपिलवस्तु, जेठ १८ गते । विश्व दुग्ध दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई पोषणयुक्त दुग्धजन्य परिकार वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत बालगृहमा आश्रित ३० जना असहाय बालबालिकाहरूलाई दुध, दही र पनिर वितरण गरिएको थियो । सो अवसरमा भेटनरी अस्पतालका प्रमुख डा. प्रवेज आलमले दुग्धजन्य पदार्थको महत्त्व र जिल्लाको उत्पादन क्षमताका बारेमा जानकारी दिएका थिए ।
“कपिलवस्तु जिल्ला वार्षिक ६० हजार मेट्रिक टनभन्दा बढी दुध उत्पादन गर्दै आएको छ। यसले न केवल स्थानीय माग धानिरहेको छ, तर गण्डकी, बागमती र कर्णाली प्रदेशमा समेत निर्यात भइरहेको छ,“ डा. आलमले बताए ।
कार्यक्रममा नेपाल भारत संगठनका कोषाध्यक्ष मोहम्मद वासिर मुसलमानले बालबालिकाहरूको हर्षित अनुहार देख्दा सन्तोष महसुस भएको बताउँदै, समाजका असहाय वर्गप्रति यस्तो सहयोग कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रमले पोषण र आत्मनिर्भर उत्पादन प्रवद्र्धनको सन्देश दिनुका साथै समाजमा सहकार्य र सहयोगको भावना बढाउने उद्देश्य लिएको थियो ।
सो अवसरमा वरिष्ठ पशु विकास अधिकृत डा सुकई प्रसाद थारु,मत्स विकास अधिकृत महेन्द्र प्रसाद यादव, राजु पौडेल माधव पौडेल लगायतको सहभागिता रहेको थियो।