सुग्रिव वरई
कपिलवस्तु, साउन ३० गते । जिल्लाको कपिलवस्तु नगरपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अधिवेशन तथा कोणसभा गोबरी चौराहामा सम्पन्न भएको छ । वडा अध्यक्ष सन्दीप कुमार कुर्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट कुर्मी सहित ३५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका कोषाध्यक्ष कृष्ण पौडेलले जनताको विश्वास जित्ने गरी जनहितका कार्यक्रम अघि बढाउन पार्टी संरचना सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले पार्टी प्रवेश गरेका नयाँ सदस्यलाई संगठन विस्तारको जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सबै तह–तप्काबाट एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले निर्वाचित वडा समितिलाई बधाई दिँदै जिम्मेवारीपूर्ण रूपमा संगठन विस्तारमा लाग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
नव–निर्वाचित अध्यक्ष सन्दीप कुमार कुर्मीले विश्वास गरेकामा सबै प्रति आभार व्यक्त गर्दै पार्टीको नीति तथा विचार जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गनुभयो । अधिवेशनकै अवसरमा विभिन्न दल परित्याग गरी २५ जना व्यक्तिले पार्टीको नीति, सिद्धान्त र मुद्दा स्वीकार गर्दै राप्रपामा प्रवेश गरेको कपिलबस्तु नगरपालिकाका नगर अध्यक्ष अम्रिका कुर्मीले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य देवेन्द्र किरण श्रीवास्तव, जिल्ला उपाध्यक्ष इद्रिस मुसलमान, जिल्ला प्रवक्ता भूमि राम गिरी, प्रदेश क्षेत्र नम्बर १(ख) निर्वाचन समिति अध्यक्ष रामु शर्मा, भूतपूर्व सैनिक जिल्ला संगठन समिति अध्यक्ष प्रकाश भुसाल, लघुवित्त उत्पीडित उत्थान जिल्ला अध्यक्ष, लघुवित्त उत्पीडित उत्थान महिला संगठन जिल्ला अध्यक्ष सिता यादव, जिल्ला सदस्य झगरु लोनिया लगायतका पार्टी नेता, कार्यकर्ताको सहभगिता रहेको थियो ।













































