पश्चिम नवलपरासी, असोज २३ गते । वर्षाका कारण पश्चिम नवलपरासीमा झन्डै पाँचसय बिघाको धान खेतीमा क्षति पुगेको छ । पसाउने बेलामा आएको पानीले धान खेतीमा क्षति गरेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । वर्षाका कारण पसाउन लागेको धानसहित धेरै दिन डुबानमा पर्दा तटीय क्षेत्रका खेतको धान नष्ट भएको हो ।
सरावल गाउँपालिकाको वडा ५, ६ र ७ मा रहेको भूजहवा, कुर्थावल र गडौरीमा झन्डै तीनसय बढी बिघामा लगाएको धानखेती नष्ट भएको छ । त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा १ शंकरपुरमा लगाइएको एकसय ५० बिघाको धानखेती नष्ट भएको ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो ।
रामग्राम, सुस्ता लगायतका स्थानीय तहमा पनि धानबाली डुबानमा पर्दा आंशिक क्षति भएको छ । ‘अन्य क्षेत्रमा लगाइएको धानखेतीमा खासै असर पारेन । दुई पालिकाका केही क्षेत्रमा दाना पसाउने बेलामा आएको पानीले क्षति गरेको छ’ चौबेले भन्नुभयो ।
हरेक वर्ष भारतसँग सिमा जोडिएका पालिकाका खेतीमा वर्षाले क्षति गर्नेगरेको छ । भारततर्फ सहज रुपमा पानी निकासको व्यवस्था नहुँदा पानी खेतमा धेरै दिन जम्मा हुने भएकाले पाक्न लागेको धान बालिमा क्षति गरेको छ । गतवर्ष ९१ हजार ५०२ मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष सामान्य बाहेक धानखेतीको उत्पादन नघट्ने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।
यसवर्ष समयमा पानी र पर्याप्त नभए पनि मल पाइएकाले जिल्लाको धान हुने सबै क्षेत्रमा रोपाइँ भएको छ । नापी विभागको तथ्याङ्कअनुसार जिल्लाको कुल खेतीयोग्य जमिन ३९ हजार ४०७ हेक्टर रहेको छ । २० हजार ४८७ हेक्टरमा धानखेती हुँदैआएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।









































