कपिलवस्तु । सगरमाथा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेले महिलाको नेतृत्वमा सञ्चालित सहकारी नमुना बनेको बताउनुभयो ।
“महिलाहरूको अगुवाइमा सञ्चालित यो सहकारीले नगर क्षेत्रका महिलालाई एकीकृत गर्दै उदाहरणीय काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “यसले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान दिएको छ ।”
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले देशभर सहकारीसम्बन्धी विभिन्न अनियमितताका घटना देखिए पनि यस संस्थाप्रति सदस्यहरूको विश्वास कायमै रहेको बताउनुभयो ।
“बचत संकलन र ऋण प्रवाहमार्फत विपन्न महिलाको आयआर्जनमा यो सहकारीले ठूलो योगदान पुर्याएको छ,” उहाँले भन्नुभयो, “महिलाकै नेतृत्वमा सञ्चालित नगरको नमुना सहकारीका रूपमा यो संस्था स्थापित हुँदै गएको छ ।”
सभामा संस्थाकी व्यवस्थापक लक्ष्मी पराजुलीले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभयो । विवरणअनुसार संस्थामा १ हजार २५० जना शेयर सदस्य रहेका छन् । हालसम्म २ करोड ४३ लाख ८३ हजार रुपैयाँ बचत संकलन भएको र २ करोड ६७ लाख ८३ हजार रुपैयाँ ऋण लगानी गरिएको जनाइएको छ ।
संस्थाकी अध्यक्ष सुष्मा गुरागाईंको अध्यक्षतामा तथा कमला भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाकी पूर्व अध्यक्षहरू शारदा पराजुली, विजयलक्ष्मी सिंह, सुष्मा रेग्मी र पुष्पा रेग्मी लगायतको सहभागिता रहेको थियो ।









































