तौलिहवा(कपिलबस्तु), असार ३२ गते । जिल्लाको बाणगङ्गा नगरपालिकाले स्वास्थ्य तथा पोषण सुधार अभियानलाई प्रभावकारी बनाउँदै थप दुई वडालाई ‘पोषण मैत्री वडा’ घोषणा गरेको छ । वडा नं. ४ र वडा नं. ९ लाई आयोजित विशेष समारोहका बीच पोषण मैत्री वडा घोषणा गरिएसँगै नगरपालिकामा पोषण मैत्री वडाको संख्या पाँच पुगेको हो ।
यसअघि वडा नं. २, ५ र ८ पोषण मैत्री वडा घोषणा भइसकेका थिए । थप दुई वडा घोषणा भएसँगै नगरपालिकाले पोषणमैत्री स्थानीय शासनको अवधारणालाई थप सुदृढ बनाएको जनाएको छ ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले स्वस्थ, सक्षम र उत्पादनशील समाज निर्माणका लागि पोषणमैत्री अभियान प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले स्थानीय तहले स्वास्थ्य, सरसफाइ, खाद्य सुरक्षा र पोषणलाई विकासको प्राथमिकतामा राखेर अघि बढेको भन्दै यस अभियानलाई निरन्तर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
बाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थालाई सुधार गर्न योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले पोषणमैत्री वडा घोषणा केवल सम्मानको विषय नभई नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारी र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै सबै वडालाई क्रमशः पोषणमैत्री घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले पोषणमैत्री वडा घोषणा कुनै औपचारिक प्रक्रिया मात्र नभई निश्चित सूचकहरू पूरा गरेपछि प्राप्त हुने उपलब्धि भएको बताउनुभयो । उहाँले पोषण सुधारका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको सहकार्यले सकारात्मक परिणाम दिन थालेको उल्लेख गर्दै कुपोषण न्यूनीकरणका लागि बहुपक्षीय समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।