कपिलवस्तु, भदौ २७ गते । मायादेवी गाउँपालिकाका २५ विद्यालयका २६ जना बाल विकास सहजकर्ताका लागि सञ्चालन गरिएको पाँच दिने शैक्षिक सामग्री निर्माण तथा बालमैत्री कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपाल (यूएमएन) को सहयोग, मायादेवी गाउँपालिकाको समन्वय तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिममा बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न स्थानीय स्रोतसाधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने, कक्षाकोठालाई बालमैत्री बनाउने तथा बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने विषयमा सहभागीलाई व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रममा मायादेवी गाउँपालिकाका योजना शाखा प्रमुख रामकृष्ण तेलीले शिक्षाको गुणस्तर सुधारमा तालिमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपलाई विद्यालयको कक्षाकोठामा व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्दै तालिमलाई औपचारिकतामा मात्र सीमित नराख्न सुझाव दिनुभयो ।

सिवाइ सिसि परियोजनाका परियोजना व्यवस्थापक तथा प्रशिक्षक शान्ति थापाले बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न शैक्षिक सामग्रीको प्रयोग आवश्यक रहेको बताउनुभयो । तालिमका क्रममा निर्माण गरिएका चार्टलगायत सामग्रीलाई कक्षाकोठामा प्रयोग गरी सिकाइलाई प्रभावकारी बनाउन उहाँले आग्रह गर्नुभयो ।

सहभागी आमिना खातुनले तालिमबाट आफूहरूले उपयोगी र व्यवहारिक सीप सिकेको बताउँदै सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परियोजना समाप्त भएपछि पनि स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले कपडासम्बन्धी सीप तथा डल कुशन निर्माणजस्ता थप व्यावहारिक तालिम आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीले विद्यालयमा बालबालिकालाई सहज र प्रभावकारी रूपमा सिक्न सहयोग पुग्ने शैक्षिक सामग्री निर्माण तथा प्रयोगका लागि तालिम उपयोगी भएको बताउनुभयो । परियोजना सीमित अवधिका हुने भएकाले यस्ता कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व लिएर निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोजकका अनुसार तालिमले बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण, बालमैत्री कक्षा व्यवस्थापन तथा बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउने व्यावहारिक सीप प्रदान गरेको छ । कार्यक्रमको सञ्चालन परियोजनाका शिक्षा अधिकृत भोरिक केवटले गर्नुभएको थियो ।