कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित कृषि विकास बैंक अगाडि सडक छेउमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ ।
शनिबार बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा फेला परेको उक्त बस्तु शङ्कास्पद देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शङ्कास्पद कुकरमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।
इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको बताए । टोलीले वम डिस्पोजल गर्ने कार्य जारी राखेको छ ।
घटना स्थलमा सशस्त्र र नेपाली प्रहरी टोली समेत परिचालन गरिएको छ । चेतावनीसहितको शङ्कास्पद कुकर बम फेला परे पछि पकडी क्षेत्रमा त्रास बढेको छ ।