काठमाडौँ — एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ऐतिहासिक ३७० रनको फराकिलो जित दर्ता गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा पाँच विकेटको क्षतिमा ४२० रनको विशाल योगफल बनायो। नेपालका प्रसिद्ध जैशीले उत्कृष्ट शतक प्रहार गर्दै १३२ रन जोडे, जसका लागि उनले ११४ बल खेले। त्यस्तै रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए। इन्डोनेसियाका बलर केतुत दर्मा पुत्राले दुई विकेट लिन सफल भए।
नेपालले दिएको ४२१ रनको पहाडजस्तो लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर तीन बलमै ५० रनमा समेटियो। इन्डोनेसियाका कभिन नीरज चड्डाले सबैभन्दा धेरै १५ रन बनाए। बलिङतर्फ नेपालका कप्तान विपिनप्रसाद शर्माले घातक प्रदर्शन गर्दै ६ विकेट लिए।
नेपालले यसअघि सिङ्गापुरलाई ६ विकेट र जापानलाई ९ विकेटले पराजित गरिसकेको थियो। लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल पर्सि भूटानसँग खेल्नेछ।
यू–१६ इस्ट जोन कपमा कुल १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, जापान र भूटान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्। समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको फाइनल असार २१ गते शनिबारका दिन हुने तय भएको छ।









































