दीपावली र छठमा डिजे, पटका र जुवातास निषेध, देउसीभैलो राति ९ बजेसम्म मात्रै
शुभ दीपावली तथा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लावासीका नाममा सूचना जारी गर्दै मूर्ति विसर्जनमा डिजे तथा ठूलो आवाज निकाल्ने साउण्ड सिस्टम प्रयोग गर्न, जुवातास खेल्न, सट्टेबाजी गर्न तथा पटका र आतसबाजी पड्काउन निषेध गरिएको जानकारी दिनुभएको छ ।
प्रशासनले मूर्ति विसर्जन गर्दा सुरक्षा निकायसँगको समन्वयमा निर्धारण गरिएको मार्ग र समयतालिकाअनुसार सूर्यास्तअघि नै विसर्जन गरिसक्न निर्देशन दिएको छ । मूर्ति विसर्जनका नाममा ध्वनि प्रदूषण हुने गरी डिजे तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ ।
त्यस्तै, जातजाति, धर्म, सम्प्रदाय तथा समुदायबीच द्वेष, वैमनस्यता र उत्तेजना फैलाउने सामग्री सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यमबाट प्रकाशन, प्रसारण र शेयर गर्नसमेत रोक लगाइएको छ ।
प्रशासनले कात्तिक २५ गते मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सेवन नगर्न आग्रह गरेको छ । मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने तथा शान्ति सुरक्षामा असर पर्ने गतिविधि गर्नसमेत निषेध गरिएको छ ।
चाडपर्वका अवसरमा जुवातास, सट्टेबाजी तथा बाजीजन्य गतिविधि सञ्चालन र सहभागितामा रोक लगाइएको छ । त्यसैगरी पटका, आतसबाजी, बम, झिरझिरेलगायत विस्फोटक तथा आगलागीको जोखिम भएका पदार्थ प्रयोग, भण्डारण र ओसारपसार गर्न नपाइने प्रशासनले जनाएको छ ।
परम्परागत देउसीभैलो, भजनकीर्तन, नाचगान तथा सांस्कृतिक कार्यक्रम भने मर्यादित र अनुशासित रूपमा राति ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले चाडपर्वका बेला धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्दै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले प्रशासनले जारी गरेका निर्देशनको पालना गरी दीपावली तथा छठ पर्व सभ्य, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्लावासीलाई आग्रह गर्नुभयो ।
निर्देशन तथा प्रचलित कानुनविपरीतका गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




























