कपिलवस्तु, २ मङ्सिर । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई आर्थिक व्यवस्थापन र मानसिक स्वास्थ्यबारे सचेत बनाउने उद्देश्यले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत नगरपालिका–१ स्थित पुरेनामा कक्षा सुरु गरिएको हो। साताको एक दिन सञ्चालन हुने कक्षा २१ हप्तासम्म चल्नेछ। यसबाट वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले वित्तीय व्यवस्थापन, बचत तथा मनोसामाजिक परामर्शसम्बन्धी ज्ञान हासिल गर्नेछन्।

कक्षाको उद्घाटन गर्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने क्रममा आवश्यक सूचना र परामर्शको अभावमा नेपालीहरूले विभिन्न समस्या भोग्नुपरेको बताउनुभयो। वैदेशिक रोजगारीका कारण परिवारमा उत्पन्न हुने आर्थिक तथा सामाजिक समस्या न्यूनीकरण गर्न नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक मेनपावर कम्पनीमार्फत जान, आवश्यक कागजात सुरक्षित राख्न र समस्या परेमा नगरपालिकासँग समन्वय गर्न आग्रह गर्नुभयो।

रोजगार संयोजक रविन चौधरीले वैदेशिक रोजगारीमा जाने क्रममा आवश्यक सावधानी नअपनाउँदा धेरै परिवारले समस्या भोग्नुपरेको बताउनुभयो। नगरपालिकाले हरेक वर्ष वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यलाई लक्षित गरी यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।

नगरपालिकाका वडा नं. २, ४ र ९ मा समेत कक्षा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेय, वडा नं. ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीलगायतको उपस्थिति थियो।