कपिलवस्तु । बाणगंगा नगरपालिका–२ स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी विषय अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले प्राविधिक शिक्षाले दक्ष, जिम्मेवार र मानवताप्रति संवेदनशील स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य बोकेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई इमान्दारी, अनुशासन र सेवाभावलाई पेशागत जीवनको आधार बनाउन आग्रह गर्नुभयो।
प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षाको मेरुदण्ड भएको उल्लेख गर्दै व्यवहारिक ज्ञान र पेशागत मर्यादाले नै दक्ष स्वास्थ्यकर्मी निर्माण हुने धारणा राख्नुभयो। प्रशिक्षक विरेन्द्र गुप्ताले अध्ययनसँगै जिम्मेवारीबोध, अनुशासन र निरन्तर अभ्यास अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन नन्दराम पौडेलले गर्नुभएको थियो भने सपथ ग्रहण प्रशिक्षक डा. शुभेच्छा शर्माले गराउनुभएको थियो। सपथमा विद्यार्थीहरूले मानवताको सेवामा समर्पित भई विवेक, इमान्दारी र मर्यादाका साथ चिकित्सा सेवा प्रदान गर्ने प्रतिज्ञा गरेका थिए। साथै जात, धर्म, राजनीति वा सामाजिक हैसियतलाई सेवामा बाधा नबनाउने तथा कुनै पनि दबाब वा प्रलोभनमा परेर मानवताको विरुद्ध आफ्नो ज्ञान प्रयोग नगर्ने अठोट व्यक्त गरेका थिए।
२०५४ सालमा स्थापना भएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले एचए, सिएमएलटी, फार्मेसी, अमिन र फिजियोथेरापी विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ।













































